धनकुटा । १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा आयोजक धनकुटा पहिलो खेलमै पराजित भएको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज देखि सुरु भएको सहिद भीमनारायण गाेल्डकपको उद्घाटन खेलमा विराटनगरको पेमा यूवा क्लवसँग पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित हुँदै आयोजक धनकुटा पहिलो खेलमै पराजित भएको हो ।
निर्धारित समयमा दुवै टिमको २/२ गोल भएको थियो । त्यसपछि थप भएको ३ मिनेट अतिरिक्त समयमा पनि दुवै टिमको गोल हुन सकेन । र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आयोजक धनकुटामाथि विराटनगरले बाजी मार्न सफल भयो । आजको खेलमा विजयी हुँदै पेमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ३१ औं मिनेटमा धनकुटाका आकाश राईले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । धनकुटाले अग्रता लिएको पाँच मिनेट वित्न नपाउँदै पेमाका विदेशी खेलाडी ओशकरले ३६ औं मिनेटमा गोल गर्दै खेल वरावरीमा ल्याए ।
खेलको ७७ औं मिनेटमा प्रशान्त राईले गोल गर्दै पेमालाई २-१ को अग्रता दिलाए । तर ८२ औं मिनेटमा धनकुटाका दिपेन शाक्यले गोल गर्दै खेल वरावरीमा ल्याए ।
थपिएको ३ मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा पेमाको तर्फबाट प्रशान्त राई, प्रविण राई, विदेश खेलाडी युनिक, रिमले गोल गरे भने ओशकरले गोल गर्न सकेनन् ।
त्यस्तै धनकुटाको तर्फबाट मनकुमार राई र अजय राईले मात्र गोल गरे भने विशाल भण्डारी र योगेश थेगिमले गोल गर्न सकेनन् ।
खेलको म्यान अफ द म्याच पेमाका कोमल खवास घोषित भए । उनले नगद ४ हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा आयोजक धनकुटा सहित पेमा युवा क्लव विराटनगर, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा, एपिएफ काठमाडाैं र विरगञ्ज युनाईटेड विरगञ्ज लगायत ८ टिमको सहभागिता छ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ ।
२०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।