धनकुटा । बी डिभिजन क्लव प्लानिङ ब्वाइज क्लव काठमाडाैं सानदार जितसँगै धनकुटामा जारि सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार तल्लो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा कन्चनजंगा फुटवल क्लव सिलगुडी भारतलाई ६-१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हाे ।
एकपक्षिय खेलमा प्लानिङ ब्वाइजले पहिलो हाफमा दुई तथा दाेस्राे हाफमा चार गोल गर्न सफल भयाे । कन्चनजंगाले दाेस्राे हाफमा पेनाल्टी मार्फत एक गोल फर्कायो ।
प्लानिङ ब्वाइजको जितमा समिर थापाले दुई, बेव्रा साक्वाइस, फागुराम थारु, राजेश शाह, सञ्जिव लामाले एक/एक गोल गरेका थिए । कन्चनजंगाको तर्फबाट साेनाम लेप्चाले पेनाल्टी मार्फत एक गोल फर्काए ।
खेलको २२ औं मिनेटमा विदेशी खेलाडी बेव्रा साक्वाइसले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरुवाती अग्रता दिलाए । उनले गोल गरेको आठ मिनेट वित्न नपाउँदै ३० औं मिनेटमा फागुराम थारुले गोल थप्दै अग्रता दाेब्बर बनाए ।
५७ औं मिनेटमा प्लानिङका राजेश शाहले गोल गरे । ६६ औं मिनेटमा कन्चनजंगाले पेनाल्टीको अवसर पायो । प्लानिङ ब्वाइजका डिफेन्डरले विपक्षी टीम कन्चनजंगाका अरुण तामाङलाई डिवक्स एरिया भित्र लडाएपछि रेफ्री सुविन कार्कीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीको अवसरलाई सदुप्रयोग गर्दै कन्चनजंगाका सोनाम लेप्चाले गाेल गरे ।
तर कन्चनजंगा माथी प्लानिङ ब्वाइजले लगातार आक्रमण वुनेकाे थियो । एकपक्षीय खेलमा कन्चनजंगा माथि ब्वाइजले दवावमा राखेको थियो । ७५ औं मिनेटमा प्लानिङ ब्वाइजका सञ्जिव लामाले गाेल गरे । त्यस्तै प्लानिङ ब्वाइजका समिर थापाले ८९ र ९४ औं मिनेटमा दुई गोल गरे ।
ब्वाइजका खेलाडीले प्रहार गरेको अधिकांश प्रहार कन्चनजंगाको गोलकिपरले विफल बनाइदिएका थिए ।
खेलको म्यान अफ द म्याच ब्वाइजका फागुराम थारु घोषित हुँदै नगद ४ हजार सहित ट्रफी प्राप्त गरे । उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र एएफसीका सामाजिक उत्तरदायी कमिटीका सदस्य दावा लामाले संयुक्त रुपमा प्रदान गरेका थिए ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता छ ।
प्रतियोगिता आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ । शनिवार विरगञ्ज युनाटेड र शसस्त्र प्रहरी वल (एपिएफ) क्लव वीच हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।