धनकुटा । राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ जन्मथलो राजारानीमा सम्मानित भएका छन् ।
राजारानीमा जारि रारा गोल्डकपको फाइनल खेलको अवसर पारेर राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर चेम्जोङलाई चौविसे गाउँपालिकाले सम्मान गरेको हो ।
चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु, उपाध्यक्ष टंकमाया पाङ्मी मगर, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल, लेखा अधिकृत साेभितकुमार तुब्वा लगायतले सम्मान पत्र र नगद ५० हजार रुपैया प्रदान गरेका थिए ।
सम्मान पछि मन्तव्य राख्दै राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर चेम्जोङले जन्मथलो राजारानीमा गाउँपालिकाको तर्फबाट सम्मानित हुँदा खुसी लागेको बताए ।
उनले राष्ट्रिय फुटवल टिमको नेतृत्व गरेर दिनप्रतिदिन आफुलाई मजवुत पार्दै चाैविसे गाउँपालिका र देशकाे नाम उच्च राख्दै फुटवल खेलिरहेको बताए । एउटा सानाे गाउँ सानो ठाउँमा हुर्किएर देशको नाम गाउँको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाउँदा खुसी लाग्ने गरेको उनले बताए । उनले यो सम्मानले आफूलाई भावुक बनाएको समेत बताए । यहाँको माटो, हावा, वनको वास्ना अझै पनि मलाई आइरहन्छ । मलाई चिन्दछ । यहाँको माटोमा हिड्दा बेग्लै आनन्द आउने बताए ।
उनले चाैविसे गाउँपालिकाबाट सम्मान स्वरुप प्राप्त रकमलाई वाल्यकालमा खेलेकाे रारा फुटवल क्लवलाई २५ हजार र वाल्यकालमा अध्ययन गरेकाे पुण्य माविलाई २५ हजार रुपैया सहयोग गर्ने घोषणा गरे । उनले मन्तव्य पछि रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङ उक्त रकम हस्तान्तरण गरे । राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उक्त रकम सहयोग गर्ने घाेषणा गर्दा रारा क्लवका अध्यक्ष मणी चेम्जोङ भावुक वनेका थिए । स्टेजका अतिथिहरुले ताली बजाएका थिए ।