विपिन दाहाल । धनकुटा
झापा फुटवल क्लवलाई १–० गोलअन्तरले पराजित गर्र्दै वीरगञ्ज युनाइटेड क्लव सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सोमवार धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा विरगञ्जको जीतमा एक मात्र निर्णायक गोल अमर डंगोलले २५ औं मिनेटमा गरेका थिए ।
वीरगञ्जले उपाधीको लागि मंगलवार प्लानिङ ब्वाइज क्लव काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । सहिद भीमनारायण गोल्डकपको फाइनल पुगेका दुवै टिम वी डिभिजन क्लव हुन् । खेलको म्यान अफ द म्याच अमर डंगोल घोषित भए । उनले नगद ४ हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।