धनकुटा । साँगुरीगढी गाउँपालिकामा दोस्रो गाउँपालिका वडा स्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ । साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमका प्रमुख साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफिलाई फुटवल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले यूवाहरुलाई खेलक्षेत्रमा प्रेरित गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा २ वडाका वडाध्यक्ष योगेन्द्र ईवाहाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन योजना तथा प्रशासन अधिकृत द्रोर्ण राईले गरेका थिए ।
कार्यक्रममा ३ नं. वडाध्यक्ष टेकप्रसाद लिम्बु, जिल्ला फुटवल संघका उपाध्यक्ष मणि देवान, सचिव मानप्रसाद लिम्बु, जिल्ला खेलकुद विकास समिति सदस्य पुष्पराज राई लगायतको उपस्थिति रहेको थियो ।
वडा नं. ८, २ र ३ को विजयी सुरुवात
प्रतियोगिताको पहिलो दिन आज (मंगलवार) तीन खेल सम्पन्न भए । पहिलो खेल वडा नं. ६ भेडेटार र वडा नं. ८ केरावारी वीच भएको थियो । उक्त खेलमा वडा नं. ८ केरावारीले वडा नं. ६ भेडेटारले ५–२ गोलअन्तरले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो वडा नं. ५ डाँडाबजार र वडा नं. २ वुढीमोरङ वीच भएको थियो । निर्धारित समय एक÷एक गोलको वरावरीमा सम्पन्न भएपछि ट्राइव्रेकरबाट निर्णय लिइएको थियो । जसमा वडा नं. ५ डाँडाबजारलाई ४–२ गोलअन्तरले पराजित गर्दै वडा नं. २ वुढीमोरङ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
तेस्रो तथा अन्तिम खेलमा वडा नं. १० ताम्राङलाई २–० गोलअन्तरले पराजित गर्दै वडा नंं ३ खुवाफोक विजयी वन्यो ।
साँगुरीगढी गाउँपालिका वडा नं ३ डाँडाटोल खुवाफोक खेलमैदानमा संचालन भइरहेको प्रतियोगिता आगामी जेठ ३ गतेसम्म हुनेछ ।प्रतियोगितामा गाउँपालिका भरिको हरेक वडाबाट एक/एक टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका एमआइएस अपरेटर किशोर मञ्जुल काफ्ले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हरेक टिमलाई एक पटकका लागि खाजा खर्च बापत ५ हजार र जर्सी गाउँपालिकाको तर्फबाट निःशुल्क उपलब्ध गराइएको छ ।