धनकुटा । भीमनारायण गोल्डकपको उपाधिको लागि आज (मंगलवार) प्लानिङ ब्वाइज क्लव काठामाडौं र वीरगञ्ज यूनाइटेड वीच प्रतिस्पर्धा हुँदैछ ।
धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजे फाइनल खेल हुनेछ । प्रतियोगितामा दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् । प्लानिङ ब्वाइज पेमा यूवा क्लव विराटनगरलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको टोली हो । भने वीरगञ्ज युनाइटेडले पनि वलियो प्रतिस्पर्धी झापा फुटवल क्लवलाई १–० अन्तरले पराजित गर्दै फाइनल पुगेको टोली हो । दुवै टिमका प्रशिक्षकले उपाधी जित्ने दावी गरेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।