धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आफ्ना एक स्वर्गीय जनप्रतिनिधिको सम्झनामा स्मृति उद्यान (फुलबारी) को निर्माण गरेको छ । चौबिसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा एमालेबाट उम्मेदवार बनेका मगर दोस्रो पटकका लागि वडा सदस्यमा बिजयी भएका थिए ।
मतगणनाको अन्तिम परिणाम घोषणा हुनु भन्दा केही समय अगाडी ह्रदयघात भई निधन भएका वडा सदस्य अटल सूर्जे मगरको सम्झनामा उद्यान निर्माण गरिएको हो ।
गाउँपालिकाले उनको बार्षिक तिथिको अवसर पारेर एक समारोहको आयोजना गरी नवनिर्मित फुलबारी सहितको स्मृति उद्यानमा नेपाली भण्डा फहराएर सम्मान प्रकट गरेको छ । उद्यानको संविधानसभा सदस्य टिकाराम चेम्जोङ्ग, गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग, सो पालिकाकाका संस्थापक अध्यक्ष खजिन्द्र राई, निमित्त प्रमुख प्रशासकिय अधिकृत शोवित कुमार तुम्बा लगायतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष चेम्जोङ्गको अध्यक्षतामा आयोजित उद्यान समुद्घाटन समारोहमा स्वर्गीय वडा सदस्य मगरको धर्मपत्नी खड्गमायाँ सूर्जे मगरले तस्वीरमा दीप प्रज्ज्वलन तथा माल्यार्पण गरेर कार्यक्रमको प्रारम्भ गरेकी थिईन् । समारोहमा संविधानसभा सदस्य टीकाराम चेम्जोङ्ग, गाउँपालिकाका संस्थापक अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर, एमालेका जीवन कटुवाल, संघीय
समाजवादीका दिवा चेम्जोङ, सो पालिकाका वडाका वर्तमान तथा पूर्व वडाध्यक्षहरुले स्वर्गीय मगरको योगदानको चर्चा गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं. २ बाट वडासदस्यमा निर्वाचित भएका मगर दोस्रो पटक पनि वडा सदस्यमा निर्वाचित भएका थिए । तर मत परिणाम घोषणा हुनु पूर्व २०७९ साल जेठ १ गते मगरको मतगणना स्थलमा नै ह्रदयघात भई निधन भएको थियो । २०२६ सालमा जन्मेका मगरको श्रीमती सहित एक छोरा र छोरी रहेका छन् ।
