धनकुटा । पशु चौपायामा लम्पी स्किन रोगको महामारी फैलिएपछि छथरजोरपाटी गाउँपालिकामा एक दिने घुम्ती शिविरको आयोजना गरिने भएको छ ।
नेपाल पाराभेटीरीनरी एण्ड लाईभष्टोक एशोसिएशन जिल्ला कार्य समिति धनकुटाले छथरजोरपाटी गाउँपालिकासँगको सहकार्यमा भोली जेठ ७ गते आइतवार ३ नं. वडाको ठूला आहालमा घुम्ती शिविरको आयोजना गर्न लागेको हो ।
पछिल्लो समय गाईभैंसी जस्ता पशु चौपायामा व्यापक रुपमा लम्पी स्किन रोग फैलिने क्रम वढेपछि यसको उपचार, रोकथाम तथा जनचेतना फैलाउने उदेश्यले शिविरको आयोजना गर्न लागिएको नेपाल पाराभेटीरीनरी एण्ड लाईभष्टोक एशोसिएशन जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष राजकुमार राईले बताए ।
उनका अनुसार छथरजोरपाटी गाउँपालिकामा यस रोगबाट संक्रमित १३ पशु चौपाया मरिसकेका छन् । गाउँपालिका अन्तर्गत पशुपंछि विकास शाखाका प्रमुख समेत रहेका राईले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न १८ सय पशुचौपायालाई निःशुल्क खोप लगाउने काम गरिएको बताए ।
छथरजोरपाटी गाउँपालिका दुग्ध उत्पादनको हिसावले जिल्लामै अगाडि आउँदछ । यस गाउँपालिकामा ९७ वटा व्यवसायिक पशु फर्म दर्ता रहेका छन् ।
सुरुमा गाईको घाँटी, पुच्छर वरिपरीको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना साना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने अदि लक्षणहरू देखिने गरेको छ। रोग बढ्दै जाँदा घाउँ ठूलो हुँदै जाने, किरा पर्ने, त्यसपछि पशु चौपायाको मृत्यु समेत हुन थालेपछी किसान चिन्तित बनेका छन्।
