विपिन दाहाल
धनकुटा । साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरिएको छ।
साँगुरीगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक तमोर नदीको गढतिर कुसेटारमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको हो।
महोत्सवका अवसरमा हिलोमा महिला र पुरुष छुट्टाछुट्टै दौड प्रतियोगिता र खेतमा धान रोपाइँपछि दही चिउरा खाएर मनाइएको थियो। ‘कृषि नै जीवनको मुल आधार, जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।
धान रोपाइँ र महिला-पुरुष दौड प्रतियोगितामा गाउँपालिका अध्यक्ष राई पनि सहभागी थिए।अध्यक्ष राईले देशमा खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै देशको श्रम शक्ति विदेशिएका र मल सिँचाइको असुविधाले धान लगायतका अन्न बालीहरूको उत्पादनमा ह्रास आउँदै गएकाले बेलैमा सचेत हुनुपर्ने बताए। दाैड प्रतियोगितामा पुरुषतर्फ नविन माझि र महिलातर्फ पुजा अधिकारी घोषित भए । उनीहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार स्वरुप एक/एक गोटा भाले प्रदान गरेका थिए ।
जिल्लाका धनकुटा नगरपालिकाको कचिडे, पात्लेखोला लगायतका ठाउँमा पनि धान दिवस मनाइएको छ।