धनकुटा । चौविसे समाज हङकङले साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयलाई जग्गा खरिद गरि निःशुल्क प्रदान गरेको छ ।
विद्यालयको सभाहलमा शुक्रवार एक कार्यक्रमका वीच चौविसे समाज हङकङका पूर्वअध्यक्ष तथा प्रतिनिधि निरप्रसाद जबेगु लिम्बु र समाजका सदस्य पदवहादुर याखाले संयुक्त रुपमा विद्यालयका प्रतिनिधिहरुलाई ३ रोपनी १० आना १ पैसा १ दाम क्षेत्रफल रहेको जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई प्रदान गरिएको जग्गाको मुुल्य करिव २० लाख रुपैया वरावरको रहेको छ । उक्त जग्गा डाँडाबजारको मानेडाँडामा अवस्थित छ । त्यस्तै सोही अवसरमा चौविसे समाज हङकङले विद्यालयमा ६ लाख २० हजार रुपैयाको वरावरको अक्षयकोष स्थापना समेत गरिदिएको छ ।
चौविसे समाज हङकङका पूर्वअध्यक्ष निरप्रसाद जबेगु लिम्बुको नेतृत्वमा समाजमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरिएको थियो । सोही रकमवाट जग्गा खरिद र छात्रवृत्तिको लागि अक्षयकोष स्थापना गरिएको चौविसे समाज हङकङका पूर्वअध्यक्ष निरप्रसाद जबेगु लिम्बुले बताए । डाँडाबजारबासी समाजका पूर्वअध्यक्ष लिम्बु र समाजका सदस्य याखा भूतपूर्व वेलायती सेना हुन् । उनीहरु हाल हङकङ वस्दै आइरहेका छन् ।
दाताहरुलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नं. वडाका वडाध्यक्ष खड्ग लिम्बु, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खजुम, प्रधानाध्यापक यज्ञवहादुर लिम्बु र प्रस्तावित क्याम्पस संचालन समितिका संयोजक कृष्णवहादुर ब्लोन लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भानु माविमा क्याम्पस संचालन गर्न त्रिभुवन विश्वविद्यालयसँग सम्वधन लिन गाउँपालिकाले पहल गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालय शिक्षक भीमशंकर काफ्लेले गरेका थिए । कार्यक्रममा लिम्बु समुदायको ढोल नाच, मगर समुदायको हुर्रा नाच सहित विविध साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
भानु माविले आगामी दिनमा प्राविधिक धारतर्फ क्याम्पस संचालन गर्ने योजना बनाइरहेको प्रस्तावित क्याम्पस संचालन समितिका संयोजक कृष्णवहादुर ब्लोनले बताए ।