धनकुटा । चौथो फाक्सिव गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ । आयोजक फाक्सिव फुटवल क्लवले प्रतियोगिताको आय–व्यय प्रतिवेदन सार्वजनिक गरेको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव खेल मैदानमा गतजेठ १० देखि १३ गतेसम्म चौथो फाक्सिव गोल्डकप संचालन भएको थियो ।
आय–व्ययको प्रतिवेदन अनुसार चौथौं संस्करणको प्रतियोगितामा ५ लाख ५८ हजार ६ सय ५५ रुपैया आम्दानी भएको र ५ लाख ३१ हजार ४ सय रुपैया खर्च भएको फाक्सिव फुटवल क्लवका अध्यक्ष पूजन लिम्बुले बताए । उनका अनुसार आम्दानीबाट खर्च कटाएर २७ हजार २ सय ५५ रुपैया बचत भएको छ ।
प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिका ४ नंं वडा कार्यालयबाट ४ लाख रुपैया बजेट विनियोजन भएमध्ये ३ लाख १९ हजार रुपैया मात्र प्राप्त भएको थियो । त्यस्तै साँगुरीगढी गाउँपालिकाबाट १ लाख रुपैया विनियोजन भएमध्ये ८० हजार रुपैया प्राप्त भएको जनाइएको छ । त्यस्तै सजिता आङदेम्वेबाट ५० हजार, अशेष लिम्बुबाट १० हजार, वडाध्यक्ष जीवनकुमार लिम्बुबाट ७ हजार पाँच सय, वालिका लिम्बुबाट ७ हजार, सुमन लिम्बुबाट ६ हजार ६ सय, सुमन लिम्बु, अमृत लिम्बु, भगिराज लिम्बु, जितेन लिम्बु, विजय लिम्बु, मकर लिम्बु, नन्दमान लिम्बु, सुरेन्द्र लिम्बु, रुपेश लिम्बु, पुरुण लिम्बुबाट ५÷५ हजार, सन्तोष लिम्बुबाट ५ हजार ५ सय, पूर्ण खजुमबाट ५ हजार ५ सय ५५, दिपन लिम्बुबाट ४ हजार ५ सय, अर्विन लिम्बुबाट ६ हजार, पुर्णवहादुर आङ्लाबाट ३ हजार, मणी तुम्वापोबाट ४ हजार र दिपक लिम्बुबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय धरान ब्याटमिन्टन समूहबाट २० केश मिनिरल वाटर, लोक आङ्लाबाट ४ हजार वरावरको ४ थान वल, धरान–१६ निवासी रामदल आङ्ला र रेवती आङलाबाट ७ हजार बरावरको ४ थान वल, राजु आङ्ला र वुद्धि चेम्जोङबाट २÷२ हजार बरावरको १÷१ थान वल र जिल्ला फुटवल संघ धनकुटाबाट म्याच वल प्राप्त भएको अध्यक्ष लिम्बुले बताए ।
खर्चतर्फ प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ५० हजार, म्यान अफ द म्याच ११ हजार गरि ४७ विभिन्न शिर्षकमा खर्च भएको बताइएको छ ।
प्रतियोगिताको उपाधी डाँडाबजार फुटवल क्लवले जितेको थियो । फाइनल खेलमा हात्तिटार स्पोटिङ क्लव राजारानीलाई ६–१ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लवले उपाधी जितेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेता टिमले नगद ५० हजार रुपैया ट्रफी हात पारेको थियो ।