धनकुटा l १०१ औं बसन्तमा हिड्दैछिन्, धनकुटा नगरपालिका वडा नंं २ भीरगाउँकी, बाटुला थापा । उनको जन्म १९७९ मा भएको हो । वाल्यकालमा उनले मनाउने दशैको चलन अलि भिन्नै खालको थियो । वर्षदिनको चाड । ठूलावडाले आशिष दिँदै लगाइदिने रातो टिका र जमरा । ‘त्यो बेला दशैको बेग्लै रौनक थियो,’—उनी सम्झिछिन्,—‘बाल्यकालमा टिका थाप्न टाढासम्मका आफन्तका घर सम्म जान्थे, दक्षिणा सँगै मिठो परिकार खान पाउँदा रमाइलो लाग्थ्यो ।’
अहिलेको जस्तो पूर्वाधारको विकास त्यतिबेला बेला भएको थिएन । टाढाका पाहुँनाहरु हिडेरै भएपनि टिका थाप्न आउथे । दशैलाई परिवारका सदस्यबीच भेटघाट गर्ने उपयुक्त अवसरका रुपमा थापा लिन्छिन् । ‘त्यतिबेला पनि वर्षभरी घर नआएका आफन्तहरु दशैमा एक भएनी अनिवार्य आउँथे’—उनी भन्छिन्,—‘त्यो बेला ठूलाबडाले दिएको आर्शिवाद साँच्चै पुगेजस्तो लाग्थ्यो ।’
वाल्यकालको दशैलाई उनी यसरी सम्झछन्,—‘विहानै उठेर घर कसेर लगाउथ्यौं । नुवाई धुवाई गरी पुजा गर्न मन्दिर जान्थ्यौं । अनि दिनभरी घरको भित्तामा कमारो र रातो माटोले लिपपोत गर्यो । साथीभाईमा झगडा हुदैन थियो । लिंगे पिंगमा रमाएर पिंग खेल्थ्यौ ।’
पछिल्लो समय दशै मनाउने चलन विकृति र खर्चिलोपन बन्दै उनको तर्क छ । उनी भन्छन्—‘हरेक कुराको विकास भएर होला, अहिले दशै विलासी हुन थालेको छ ।’ उहिले वाउआमाले वर्षदिनमा एक जोर लुगा किनिदिँदा खुसीले नाचेका थियौं, उनी स्मरण गर्छिन् । उनी भन्छिन्,—तर अहिले केटाकेटीलाई लुगा किनिदिँदा दुई जोरले नि पुग्दैन । यूवा पिढीमा देखिएको उत्ताउलोपनले दशैलाई विकृत र बिसङ्गति बनाउँदै लगेको उनको तर्क छ ।
विहान वेलुको घरको घास दाउरा । दिउँसो स्कुल । छुट्टीको अरुबेला गोठालो । यसरी नै वित्थ्यो मेरो दिन । उनी भन्छन्,—‘दशैमा धेरै दिन छुट्टी हुनाले रमाएर खेल्थ्यौ ।’ अहिलेको दशैमा जाडँरक्सी खाएर जुवातास खेल्ने बानी पटक्कै मन परेको छैन । यसले चाडपर्वलाई संरक्षण गर्नुको सटट विकृति तर्फ लैजादै गरेको तर्क छ । उनी भन्छिन्, साथीभाईमा झगडा सँगै आर्थिक घाटा हुन्छ । दशै भनेको असत्य माथिको सत्यको जित हो । सामुहिक एकताको भावनामा रहेर दशै मनाउनु पर्छ भन्ने थापाको मान्यता छ । अहिले दशैमा अर्काको देखासिकी गर्ने भावना बढेको छ । छिमेकीले केही चिज नयाँ किनेर लगायो भने आफूले त्यो भन्दा राम्रो र महंगो लगाउनु पर्छ भन्ने घमण्ड छ । उनी दशैलाई पारिवारीक भेला हुने थलोको रुपमा लिन्छिन् । दशै अहिले खर्चिलो बन्दै गइरहेको उनी बताउँछिन् । अहिले दशैमा आवश्यक हरेकजसो सामाग्री किन्नु पर्छ, त्यो पनि महंगोमा, उनि भन्छिन्, पहिले गाउँघरमा दशैका लागि घरमै खसी पालिथ्यो । अन्नपात र मरमसलाको खेती गर्थ्यौं । दशैमा लुगा र नुनतेल मात्रै किने चलन थियो । गाउँ छिमेकमा आवश्यक सरसापट गरेर अभाव टार्ने परम्परा थियो । त्यो बेला हामी आफै आत्मनिर्भर थियौ । हिजोआज बढी परनिर्भर भएका छौं ।