धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नाम्जेमा करिव १८ करोड रुपैयाको लगानीमा रिडी नाम्जे इको रिसोर्ट खुल्ने भएको छ ।
भेडेटार घुम्न आउने पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट संचालनमा आउन लागेको रिडी नाम्जे इको रिसोर्ट प्रा.लिका अध्यक्ष शारदा मगरले बताइन् । उनका अनुसार अहिले संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचना निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी ३० प्रतिशत आगामी ६ महिना भित्र सम्पन्न भइसक्ने अध्यक्ष मगरको भनाई छ ।
रिसोर्टमा ७० प्रतिशत वित्तिय संस्थाको लगानी छभने वाँकी ३० प्रतिशत प्रा.लिमा आवद्ध शेयर सदस्यहरुको लगानी छ ।
कुल ९ रोपनी जग्गामा निर्माण भइरहेको इको रिसोर्टमा स्वीट, डिलक्स र स्टाण्डर्ड गरी ४५ कोठा, १ सय जनाको लागि रेष्टुरेण्ट एण्ड वार, कर्पोरेट वैठक रुम तथा ३ सय देखि ५ सय जनताको लागि बहुउदेश्यीय हलको सेवा उपलब्ध हुने बताइएको छ ।
पर्यावरण र संस्कृति संस्कृति संरक्षणसहितको सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित इको रिसोर्टमा रिडी ग्रुप लिमिटेड सहित ९६ जनाको लगानी रहेको छ ।