धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ ।
साँगुरीगढी गाउँपालिकाको सहयोगमा त्रिवेणी फुटवल क्लवको आयोजना प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अधयक्ष जितेन्द्र राईले रेफ्रिलाई वल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सोही अवसरमा गाउँपालिका अध्यक्ष राईले उक्त नवनिर्मित खेल मैदानको रिवन काटेर समुद्घाटन समेत गरेका थिए ।
आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा त्रिवेणी एफ सी र तेम्वाङ्ग एफ सी वीच भएको थियो । उक्त खेलमा तेम्वाङ्ग एफ सी विजयी भएको थियो । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल ट्राइब्रेकरमा थकेलिएको थियो । ट्राइब्रेकरमा त्रिवेणी एफ सीलाई ४–३ गोलअन्तरले पराजित गर्दै तेम्वाङ्ग एफ सी विजयी वनेको थियो ।
त्यस्तै दोस्रो खेलमा द राईजिङ एफ सीले तिलिगाउँ एफ सीलाई ३–२ गोलअन्तरले पराजित गर्यो । निर्धारित समय दुवै टिमबाट २/२ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा द राईजिङ एफ सी विजेता बन्यो ।
आजै सम्पन्न तेस्रो खेलमा थेगिम टाइगर एफ सीले पिङ्गवुङ एफ सीलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै जित हासिल
गर्यो ।
आगामी मंसिर १५ गतेसम्म संचालन हुने प्रतियोगितामा २३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक त्रिवेणी फुटवल क्लवका अध्यक्ष दिल सुसिर राईले बताए । त्यस्तै उपविजेता टिमले नगद ३० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।