धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखामा प्रथम मंसिर पुर्णिमा आमन्त्रित फुटवल कप प्रतियोगिता हुने भएको छ ।
उधौली पर्व तथा मंसिर पूर्णिमाको अवसर पारेर तुंखा फुटवल क्लवको आयोजनामा आगामी पुस १० देखि १४ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता तल्लो तुंखास्थित तुंखा खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ३२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक तुंखा फुटवल क्लवका उदिप देवानले बताए । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा आयोजक टिम सहित तुंखा फुटवल क्लव, मौनावुधक फुटवल क्लव, थाप्रुङ फुटवल क्लव, खुवाफोक फुटवल क्लव, फाक्सिव फुटवल क्लव, डाँडाबजार एकेडेमी, मिलनचोक फुटवल क्लव, पाटीगाउँ फुटवल क्लव, वसन्तटार फुटवल क्लव, तिली गाउँ फुटवल क्लव, लाप्चेटार फुटवल क्लव गरि १२ टिमको सहभागिता आयोजक तुंखा फुटवल क्लवका सचिव उदीप देवानले बताए । उनका अनुसार प्रतियोगिता संचालनको लागि स्थानीय वासिन्दाले आर्थिक सहयोग गरेका छन् ।