विपिन दाहाल । धनकुटा
धनकुटामा मानव अधिकार उल्लघनका घटनाहरु वृद्धि भएको पाईएको छ । आईतबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ का लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको वार्षिक प्रतिबेदनले धनकुटामा मानव अधिकार उल्लघनका घटनाहरु वृद्धि भएको पाईएको हो ।
धनकुटामा गत वर्ष ७५ वटा मानवअधिकार उल्लंघनका घटनामा ७५ जना पिडित भएकोमा यसवर्ष १ सय घटनामा १ सय ३ जना पिडित भएको इन्सेक प्रतिनिधी ईश्वर थापाले बताए । धनकुटामा यसवर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको थापाले बताए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्ववार्षिक समिक्षा कार्यक्रममा धनकुटामा एक वर्षको अवधिमा १ सय वटा मानवअधिकार उल्लघंनका भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । इन्सेकको तथ्यांक अनुसार १ सय घटनामा १ सय ३ जना पिडित भएको उल्लेख छ । इन्सेकको तथ्यांक अनुसार ४ जनाकोे हत्या, झडपमा २ जना घाइते, कुटपिट १ जना, मोसो दलेर २ जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, ५ बालिका सहित १४ जना बलात्कृत, बाल यौन दुव्र्यवहार १ जना पिडित भएका छन् ।
त्यस्तै बालविबाह १ जना, बोक्सीको आरोप १ जना, भौतिक संरचनामा क्षति हुँदा २ पिडित, सार्वजनिक सेवाबाट बञ्चित १ जना र श्रमको हकबाट १ जना पिडित बनेको इन्सेक प्रतिनिधी थापाले बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्र कुमार राईले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । इन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको उनले बताए । उनले समाजमा जान्ने बुझ्ने मान्छेबाटै समाजमा घटना भइरहेको बताए । आर्थिक आर्जनमा मानिस नलागेसम्म मानवअधिकार उल्लंघन नघट्ने बताउँदै प्रविधीको विकाससँगै आर्थिक विकास भएमा मानवअधिकार उल्लंघन घट्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले मानव अधिकार उल्लंघनमा गम्भिर अवस्थामा रहेको चित्रण गरेको बताए । उनले भएन भन्दा पनि समाधानको बाटो खोज्नुपर्ने बताए । जिल्ला समन्वय समिति धनकुटाको उपप्रमुख सावित्रा राईले मानव अधिकार उल्लंघनका घटना पूर्ण रुपमा निराकरण नहुने बताउँदै कुन ठाउँसम्म पुग्ने भन्ने लक्ष्य राख्नुपर्ने बताइन् । मानव अधिकार उल्लंघनमा सबैतिर समस्या भएकोले सबैले ध्यान दिनुपर्ने उनको जाेड थियो ।
यता धनकुटा नगरपालिका उपप्रमुख भीमा खनालले मानव अधिकार उल्लंघनका घटना बढ्नुले समाज कता जाँदै छ भनेर चित्रण गरेको बताउँदै घर टोलबाट नै गम्भिर बन्नुपर्ने बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायामाझीले मानव अधिकार संरक्षण प्रवद्र्धनमा सबैले चासो दिनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार शाहले प्रहरीले मानवअधिकारलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिए ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, नेकपा एमाले धनकुटाका कार्यालय सचिव नैन विश्वकर्मा, नेकपा माओवादी केन्द्र धनकुटाका प्रदेश कमिटी सदस्य विष्णुमाया कन्दङ्वा, राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटा संयोजक बालानन्द दाहाल, जनता समाजवादी पार्टी धनकुटा सचिब डम्बर कटुवालले मानव अधिकार मैत्री बन्न आवश्यक रहेको बताए ।
उद्योग वाणिज्य संघ धनकुटा वरिष्ठ उपाध्यक्ष तारा तितुङ, महिला पुनस्थापना सेवा केन्द्रकी सदस्य सुक्री राई, हुसाडेक नेपालका सचिव खेमराज थापा, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा अध्यक्ष सञ्जयसन्तोषी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश अध्यक्ष सन्तविर लामाले मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन कसको के काम भनेर नै लाग्नुपर्ने बताउँदै सबैको पहल आवश्यक रहेको बताएका थिए । मानव अधिकारको अवस्थाका विषयमा जानकारी दिई यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिबृद्धि गर्ने बताउँदै महिला हिंसाका घटना बढेको बताउदै तीनै तहको सरकारले महिला हिंसा न्युनिकरणमा बजेट खर्चने बेला आएको बताएका थिए ।
गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकार एलाइन्स धनकुटा अध्यक्ष केदार दाहाल मानव अधिकार घोषणापत्र र यसको कार्यान्वयन, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापाले धनकुटामा मानव अधिकारको अवस्था सहित समिक्षा प्रतिवेदन र पर्डेप नेपालका खिन्द्र अधिकारीले सहिदभूमि गाउँपालिकाका सञ्चालित न्याय पहुँच कार्यक्रमका गतिविधी र प्रगति विवरण प्रस्तुत गरेका थिए ।
पत्रकार, सामाजिक अभियान्ता, सुरक्षा निकाय, राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधि लगायत गरि ४५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले र स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले राखेका थिए ।