विपिन दाहाल
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखामा आजदेखि प्रथम मंसिर पूर्णिमा आमन्त्रित फूटवल कप प्रतियोगिता सुरु भएको छ ।
तुंखा फुटवल क्लवको आयोजनामा तुंखा खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन आयोजक तुंखा फुटवल क्लव र पाटीगाउँ फुटवल क्लवले विजयी सुरुवात गरेका हुन् ।
पहिलो खेलमा आयोजक तुंखा फुटवल क्लवले खुवाफोक फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । तुंखाको जितमा सगुन याखा र दिपन देवानले एक÷एक गोल गरेका थिए । भने खुवाफोकको लागि सेसेहाङ लिम्बूले सान्त्वना गोल फर्काए । उक्त खेलको म्यान अफ द म्याच तुंखाका सगुन याखा घोषित हुँदै नगद एक हजार रुपैया प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राई र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा विजयी हुँदै पाटीगाउँ फुटवल क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ । पाटीगाउँले सोक्रोक्पा फुटवल क्लवलाई ९–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । पाटीगाउँको जितमा सागर थापा मगर र एञ्जल थापा मगरले तीन÷तीन गोल गर्दै ह्याक्ट्रिक गरे । भने राज लिम्बुले दुई तथा सुशिल लिम्बुले १ गोल गर्न सफल भए । त्यस्तै सोक्रोक्पाको लागि प्रकाश लिम्बुले एक गोल गरे । उक्त खेलको म्यान अफ द म्याच एञ्जल थापा मगर घोषित हुँदै एक हजार रुपैया प्राप्त गरे ।
प्रमुख अतिथि कोशी प्रदेश पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य निरनकुमार राईले रेफ्रि मिलन थेगिमलाई वल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमको अवसरमा तुंखा खेल मैदानको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु टेकवहादुर याखा, भीमवहादुर याखा, जंगवहादुर याखालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख तथा विशेष अतिथिले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । भने उपविजेता टिमले ३२ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटवल क्लवका सचिव उदिप देवानले बताए । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका तुंखावासीहरुले आर्थिक सहयोग गरेका छन् ।