धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखामा जारी प्रथम मंसिर पूर्णिमा आमन्त्रित फूटवल कप प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा आयोजक तुंखा फुटवल क्लव र थाप्रोङ फुटवल क्लव विजयी हुँदै फाइनल प्रवेश गरेका छन् ।
तुंखा खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिलन चोक फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै थाप्रोङ फुटवल क्लव फाइनल प्रवेश गरेको हो । थाप्रोङको जितमा आशिष चेम्जोङ, विश्व चेम्जोङ, धिमन चेम्जोङ, विरेन चेम्जोङ, नगेन्द्र वि.क र अनन्तदीप राईले गोल गरेका थिए । भने वुद्ध चेम्जोङको प्रहार गोलकिपर मिलन चोकका सुपर राईले रोकेका थिए ।
त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाटीगाउँ फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ । तुंखाको जितमा रुपेश याखा र विपिन लिम्बूले एक÷एक गोल गरेका थिए । भने पाटीगाउँको लागि सुवास मगरले एक मात्र सान्त्वना गोल गरे ।
फाइनल खेल शनिवार हुनेछ । उपाधिको लागि आयोजक तुंखा फुटवल क्लव र थाप्रोङ फुटवल क्लव वीच खेल हुनेछ
तुंखा फुटवल क्लवको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । भने उपविजेता टिमले ३२ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटवल क्लवका सचिव उदिप देवानले बताए । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिता सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका तुंखावासीहरुले आर्थिक सहयोग गरेका छन् ।