धनकुटा । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिवल सुरु भएको छ ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा सुरु फेस्टिवल आगामी पुस १७ गते अर्थात तीन दिनसम्म संचालन हुनेछ । फेस्टिवलको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातारण मन्त्री गणेश उप्रेतीले गरेका थिए ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर फेस्टिवलको आयोजना हुँदै आइरहेको छ । फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । फेस्टिवलमा आउने आगन्तुकहरुले स्थानीय जातीय पराम्परागत खानेकुराहरुको स्वाद लिन र हेर्ने अवसर पाउनेछन् ।
ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार फेस्टिवल मार्फत हुने भेडेटार होटल एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुको भनाई छ । फेस्टिवलमा साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनी समेत गरेको छ । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पर्यटकीय गतिविधि बढाउन फेस्टिवलले सहयोग पुग्ने बताए । फेस्टिवल भरि ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैया वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको होटल एशोसिएसनका सचिव लालवहादुर श्रेष्ठले बताए । तीन दिन सम्म आयोजन हुने फेस्टिवलमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहने छ ।
फेस्टिवल अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । भेडेटार आउने पर्यटकहरुलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।