काठमाडौं । किरात राई सांस्कृतिक कलाकार सङ्घले किराती भेषभूषा र बाजा-गाजाको गलत प्रयोग नगर्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्घले गलत प्रयोगबारे सचेत गराएको हो ।
“सार्वजनिक कार्यक्रमहरूमा समेत कतिपयले किराती भेषभूषाको गलत प्रयोग गरेको देखियो । त्यसप्रति सचेत तुल्याउन र सही प्रयोगबारे बताउन हामीले पत्रकार सम्मेलनको प्रयोग गर्नुपर्यो,” सङ्घका अध्यक्ष शालिक शातासक राईले भने ।
उनले थपे, “जस्तै: कतिपयले सारीको पारिमा, सुरुवालमा तथा जुत्तामा चिन्डोको प्रयोग कतिपयले गर्दै आएका छन् । किरात राई समुदायले चिन्डो (वाबुक)लाई सांस्कृतिक प्रतीक मान्छन् । मुन्दुममा चिन्डोलाई जीवनको प्रतीकको रूपमा मानिने भएकोले यसको प्रयोग सचेत भएर गर्नुपर्ने हुन्छ ।”
त्यस्तै किराती चाडहरूलाई ‘पर्व’ भन्न नहुने सङ्घले जनाएको छ । “मुन्दुमअनुसार ‘पर्व’ कतै पनि मेल नखाने शब्द भएकोले यस शब्द प्रयोग नगरी यसको ठाउँमा ‘चाड’ भन्नुपर्ने हुन्छ,” सङ्घका महासचिव पदम थुलुङ राईले भने, “यस्तै ‘साकेला चाड भन्ने ‘साकेला पर्व’ नभन्ने, ‘उधौली साकेला’, ‘उभौली साकेला’ लाई कतिपयले ‘उधौली चण्डी’, ‘उभौली चण्डी’ भन्छन् । यसरी ‘साकेला’लाई ‘चण्डी’ नभन्ने र ‘चण्डी’ शब्दलाई निषेध गर्नुपर्छ ।”
सङ्घले किराती संस्कृति भावी दिनहरूमा पनि सचेत गराउँदै सही प्रयोगबारे बताउने बताएको छ ।