काठमाडौं । किरात राई सांस्कृतिक कलाकार संघ, केन्द्रीय कार्यसमितिले यलदोङ (यलम्बर संवत)लाई राष्ट्रिय संवत घोषणा गरी लागु गर्न माग गरेको छ ।
किरात राई सांस्कृतिक कलाकार संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल देशको संस्थापक राजा यलम्बरको स्मृतिमा चलेको संवत यलदोङ (यलम्बर संवत)लाई राष्ट्रिय संवत घोषणा गरी लागु गर्न सरका समक्ष माग गरेको हो । लिच्छबि कालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ÷यले तङबे÷यलम्वर संवतलाई राज्यले राष्ट्रिय संवत घोषणा गरी लागु गर्नुपर्ने किरात राई सांस्कृतिक कलाकार संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष शालिक शातासक राईले बताए ।
प्रथम किरात हाङ (राजा) यलम्बरलाई आधुनिक नेपालको संस्थापक राजाका रुपमा लिइन्छ । यही कारण किरात राई सांस्कृतिक कलाकार संघले प्रथम हाङ यलम्वरलाई राष्ट्रिय बिभुति घोषणा गर्न, प्रत्येक माघ १ गतेलाई यलम्वर जयन्तीका रुपमा मनाई एक दिन सार्बजानिक बिदा दिने व्यवस्था गर्न, नेपाल देशको ब्यबस्थित राज्य निर्माणको जग हाल्ने पहिलो राजा यलम्बर भएकाले माघ १ गते यलम्वर दिवस मनाउने व्यवस्था गर्न माग गरेको छ । ‘कुनै पनि समुदायको साल÷संवत, भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, निजि हुँदैन । यो साझा बिषय हुन्छ, सबैले ग्रहण गर्न सक्छन् । यले तङ्बे÷यलेदोङ÷यलम्बर संवत पनि साझा हो । यसलाई राष्ट्रिय संवतको रुपमा घोषणा गरियोस्,’ विज्ञाप्तीमा भनिएको छ, ‘नेपाल देशको संस्थापक राजाको रुपमा यलम्बरलाई मानिएको प्रमाणित इतिहास भएकाले उनकै स्मृतिमा चलेको संबत् नै यलम्बर वा यलदोङ÷यले तङ्बे हो । यसलाई मान्नु भनेको यो राष्ट्रकै सम्मान हो ।’
कलाकार संघका अनुसार किराती सभ्यताको गर्भभित्र हुर्किएको बिबिध संस्कृतिमध्ये यले तङबे÷यलदोङ (यलम्बर संवत) एक प्राचीन संवत् हो । यलदोङ (यलम्बर संवत)लाई राष्ट्रिय संवत घोषणा गर्नुपर्ने सन्दर्भमा कलाकार संघले यलदोङ÷यले तङबे÷यल संवतको नामाकरण, यलम्बर संवतको ऐतिहासिकता, संघको धाराणा तथा स्पष्टीकरण सार्वजनिक गरेको छ । आउँदो माघ १ गते भव्य रुपमा यलम्बर जयन्ति मनाउने तयारी आगामी माघ १ गतेबाट यलदोङ (यलम्बर संवत) ५०८४ सुरु हुँदैछ ।
किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिले आगामी माघ १ गते किराती नयाँ वर्षको उपलक्ष्यमा भव्य रुपमा यलम्बर जयन्ति मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नयाँ यलदोङ (यलम्बर संवत)को अवसरमा ललितपुरको नखिपोट खेलमैदानमा उपत्यका केन्द्रीत किराती नयाँ वर्ष यलदुङको कार्यक्रम हुने किरात राई सांस्कृतिक कलाकार संघ, केन्द्रीय कार्यसमितिका महासचिव पदम थुलुङले बताए ।
उपत्यका बाहिर उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई सांस्कृतिक कलाकार संघका जिल्ला शाखाले पुस २९ र माघ १ गते यलम्बर जयन्ति मनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।