धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा जारी दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधीको लागि आयोजक तेम्वाङ एफसी र साविक विजेता माङदवा एफसी वीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल भोली शनिवार हुनेछ ।
प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै आयोजक तेम्वाङ एफसी र माङ्दवा एफसी फाइनलमा प्रवेश गरेका हुन् । यी दुई टोली अघिल्लो संस्करणको विजेता तथा उपविजेता टिम हो ।
पहिलो सेमिफाइनल खेलमा ड्रिम एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजक तेम्वाङ एफसी फाइनलमा प्रवेश गरेको हो । तेम्वाङ एफसीको जितमा अनिश लिम्बूले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे । भने एक गोल सुमन राईले गरेका थिए ।
तेम्वाङ एफसी लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । अघिल्लो संस्करणमा पनि तेम्वाङ एफसी फाइनल पुगेको थियो । र उपविजेता वनेको थियो ।
यसैगरी आजै सम्पन्न दोस्रो खेलमा डाँडाबजार एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै गतसंस्करणको विजेता समेत रहेको माङ्दवा एफसी लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । माङ्दवा एफसीको जितमा ज्वाला लिम्बू र विनोद राईले गोल गरेका थिए । भने डाँडाबजार एफसीको लागि विवेक याखाले सान्त्वना गोल फर्काएका थिए ।
दोस्रो संस्करणकोे विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफ्री र प्रमाण र उपविजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफ्री र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैया, सर्वाधिक गोलकर्ताले नगद ४ हजार, उत्कृष्ट गोलकिपरलाई नगद ३ हजार प्रदान गरिने आयोजक तेम्वाङ फुटवल क्लवका अध्यक्ष नविन राईले बताए ।
प्रतियोगितामा आयोजक सहित १२ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको सहप्रायोजक जिस्टोर, सहयोगी साँगुरीगढी गाउँपालिका र साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको छ ।