धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाको स्थानीय तहहरुमा जनप्रतिनिधिहरुको भेला गर्ने भएको छ । जिल्ला कार्य समितिको शुक्रवार वसेको वैठकले माघ महिनाभित्र जिल्लाको सात वटै स्थानीय तहमा जनप्रतिनिधिहरुको भेला गर्ने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले जनप्रतिनिधिहरुको भेलाको लागि सचिवद्वय विजय सन्तोषी राई र जयन्द्र घिसिङ, कोषाध्यक्ष सरस्वती मगरलाई जिम्मेवारी दिएको छ ।
बैठकले माघ मसान्त भित्रमा क्रियाशील सदस्यता वितरण गरेर जिल्ला समितिमा बुझाउनका लागी समयावधि तोकेको र समुदायमा कांग्रेस अभियान धनकुटाका सवै वडाहरुमा जिल्लाबाट खटिएका प्रतिनिधिहरुले वडाहरुमा र जिल्ला समितिले सातवटा पालिकामा र जिल्लामा कार्यक्रम गर्ने र राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन क्रियाशील हुने निर्णय समेत गरेको छ ।
बैठकमा जिल्ला पदाधिकारीहरु, सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुले आ-आफ्नो धारणा राखेका थिए ।