धनकुटा । दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी माङदवा फुटवल क्लवले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा आयोजक तेम्वाङ फुटवल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै माङदवा फुटवल क्लवले लगातार दोस्रो पटक उपाधी जितेको हो ।
गतवर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधी पनि माङ्दवा नै जितेको थियो । लगातार दोस्रो पटक फाइनल पुगेको आयोजक तेम्वाङ यो पटक पनि उपाधी जित्नवाट वञ्चित रह्यो । अघिल्लो संस्करणमा माङ्दवासँग आयोजक तेम्वाङ पराजित हुँदै उपविजेतामा सीमित वनेको थियो ।
दोस्रो संस्करणको उपाधी सँगै माङ्दवाले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गरेको थियो । भने उपविजेता वनेको आयोजक तेम्वाङले नगद ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफीमा चित्त वुझायो ।
साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा रहेको खेल मैदानमा सम्पन्न फाइनल खेलमा माङदवाको लागि मिलन लिम्बूले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । तेम्वाङको लागि अनिश लिम्बुले २ गोल गरेका थिए ।
खेलमा दुई पटक अग्रता लिएपनि तेम्वाङले थपिएको अतिरिक्त समयमा एक गोल खान पुग्यो । जसको कारण जितवाट वन्चित भयो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिम माङदवाका मिलन लिम्बू घोषित हुँदै नगद १ हजार ५ सय रुपैया नगद प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तेम्वाङका वविन तामाङ घोषित हुँदै नगद ५ हजार रुपैया सहित ट्रफी प्राप्त गरे । त्यसैगरी उत्कृष्ट गोलकिपर माङदवाका क्रान्ति राई घोषित भए । उनले नगद ३ हजार रुपैया सहित ट्रफी प्राप्त गरे । त्यस्तै प्रतियोगिताभर सर्वाधिक पाँच गोल गर्दै तेम्वाङका अनिश लिम्बु घोषित भए । उनले पनि नगद ४ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
माघे संक्रान्तिको अवसर पारेर तेम्वाङ फुटवल क्लवको आयोजनामा प्रतियोगिता संचालन भएको थियो । गत माघ १ गते देखि संचालन भएको प्रतियोगितामा आयोजक सहित १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको सहप्रायोजक जिस्टोर, सहयोगी साँगुरीगढी गाउँपालिका र साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्रिलाई वल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्रतियोगिताले प्रतिभावान् खेलाडी छनोट गर्न सहयोग पुगेको बताउँदै गाउँपालिकाको तर्फबाट आगामी दिनमा अझ वढी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बू, २ नं. वडाध्यक्ष योगेन्द्र इवाहाङ र ६ नं. वडाध्यक्ष यमप्रकाश मगर लगायतले मन्तव्य राखेका थिए ।
तेम्वाङ फुटवल क्लवका अध्यक्ष नविन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन खेल संयोजक ममिन्द्र राईले गरेका थिए ।
सो अवसरमा प्रतियोगितालाई सफलतापूर्वक संचालन गर्न सहयोग पु¥याउने सहयोगी दाता तथा प्र्रायोजकहरुलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरेको थियो ।