धनकुटा । धनकुटा सदरमुकामस्थित तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ ।
नेकपा एमाले धनकुटाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तथ्यांक कार्यालयलाई खोटाङमा र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाममा सार्न लागिएको भन्दै विरोध जनाएको हो ।
यस्तै धनकुटामा निर्माणाधिन एक सय शैयाको अस्पतालको जग्गा प्राप्तीका लागि संघिय सरकारले निर्णय नगरेको, अघिल्ला सरकारले छुट्याएका विकास बजेट कटौती गरेको र एक स्थानीय तह एक अस्पतालको बजेट कटौती गरेको एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले संघीय मन्त्रिपरिषद् बैठकले कार्यालय सार्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा सबै धनकुटेली एक हुनुपर्ने बताए ।
कार्यालय सार्न लागेको विरोधमा एमाले धनकुटाले माघ १५ गते सबै राजनितिक दल र जनप्रतिनिधीको भेला आयोजना गर्ने तथा माघ १६ गते धनकुटा विरोध ¥याली गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले बताए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा वर्तमान सरकारले धनकुटालाई हेप्ने, अपमान गर्ने काम गरेकोले यो कार्य नरोकिए आन्दोलनको चेतावनी दिइएको छ । एमाले धनकुटाले आइतबार नै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यालय सार्ने निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।