धनकुटा l पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसमा एकता हुनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस धनकुटाले सोमबार धनकुटामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले कांग्रेस एकजुट नहुँदा काग्रेसजनमा मात्रै नभइ देशमा समस्या परिरहेको बताए ।
उनले कसैले चाहेर वा नचाहेर भएपनि कांग्रेश देशको पहिलो शक्ति भएकाले देशको विकासको लागि आफूभित्र एकता आवश्यक रहेको बताए । नेता कार्कीले नेपालमा अब राजतन्त्र फकर्न नसक्ने बताए । उनले राणाशासनको अन्त्य भएपछि त्यसलाई फर्काउने प्रयास भएको र पञ्चायतको अन्त्यपछि पनि त्यसलाई फर्काउने प्रयास भएको हुँदा दुवै सम्भव नभएकाले राजतन्त्र फर्काउने विषय पनि त्यस्तै रहेकोले पुन फर्किने सम्भावना नरहेको बताए ।
फरक प्रसंगमा कांग्रेस नेता कार्कीले संविधान रक्षाका लागि गठबन्धन बनेको बताउँदै यो गठबन्धनले ५ वर्षसम्म निरन्तरता पाउने बताए । उनले कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा देखिने गरि काम गर्नुपर्ने बताए । राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्ताहरुसँग भेटघाट गर्न कोशी प्रदेशका विभिन्न जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर, संखुवासभा हुँदै धनकुटा आएका हुन् । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको छ । जसमा कोशी प्रदेशमा गठबन्धनले कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ ।