धनकुटा l नेपाली कांग्रेस धनकुटाको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्ने धनकुटामा नै राख्ने वताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नसार्नका लागी मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै आग्रह गरेपछि मुख्य मन्त्री कार्कीले धनकुटामा रहेका कुनै पनि सरकारी कार्यालयहरु अन्यन्त्र सार्ने योजना नरहेको बताउँदै धनकुटामा रहेको कार्यालयहरु नसार्ने समेत प्रतिवद्धता जनाएका हुन् ।
धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भइरहेको भन्ने चर्चा चलिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजयसन्तोषी राई, नेपाली कांग्रेस नेता तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, नेपाली कांग्रेसका नेता तथा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले धनकुटामा रहेका कुनै पनि कार्यालयहरु अन्यत्र नसार्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटाबाट प्रदेश अन्तर्गतका कुनै पनि कार्यालयहरु अन्यत्र सार्ने योजना नभएको र धनकुटाको कुनै पनि कार्यालय अन्यत्र नसार्ने तपाईहरु ढुक्क हुनु भनेर मुख्यमन्त्रीले कार्कीले भनेको नेपाली काग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
नेपाली कांग्रेस धनकुटाका टोलीसँग मुख्यमन्त्री कार्कीले कुरा गर्दै धनकुटाको विकास र समृद्धिका लागी प्रदेश सरकारले विशेष योजनाहरु ल्याउनु र धनकुटाका रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा कम्तिमा पनि महिनाको एक पटक प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने र अब चाँडै पहिलो बैठक बस्ने समेत मुख्यमन्त्री कार्कीले वताए ।