धनकुटा । सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटा इटहरीमा जारी स्व। कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै सिधुँवा फाइनल प्रवेश गरेको हो ।
सिधुँवाका लागि खेलको १८ औँ मिनेटमा टिम क्याप्टेन विशाल भण्डारीले उत्कृष्ट प्रहार गर्दै गोल गर्न सफल भए । यसैगरी खेलको ५४ औँ मिनेटमा सिधुँवाका लागि भुवन बस्नेतले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अग्रता लिएको सिधुँवा धरानलाई हाफपछि भने थप आक्रमक बन्यो । हाफपछि थप १ गोल थपेको सिधुँवाले पटकपटक थप अवसरसमेत पाएको थियो । धरानले यसबीचमा गोल गर्न नसकेपछि थप दबाब प¥यो । पहिलो हाफअघि नै दबाबमा परेको धरानले गोल फर्काउन नसकेपछि सेमिफाइनलबाट बाहिरिएको छ ।
खेलको म्यान अफ दि म्याच सिधुँवाका टिम क्याप्टेन विशाल भण्डारी घोषित हुँदै नगद पाँच हजारसहित ट्रफी हात पारे । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।
उपाधिका लागि भगिमान तुम्बाहाम्फे फुटबल क्लब तेह्रथुम र सिधुँवा सिंहदेवी फुटबल क्लबबीच शनिवार प्रतिष्पर्धा हुनेछ ।
आयोजक कमिटिका अध्यक्ष विजय सुब्बाका अनुसार कोसी प्रदेशका आठ वटा टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।