धनकुटा । दुग्ध संस्थानहरुबाट भुक्तानी नपाएको भन्दै धनकुटा सहित देशभरका किसान आन्दोलित भएका छन् । विगत छ महिना यता भुक्तानी नपाएको भन्दै जिल्लाका दूध उत्पादक किसानहरुले शनिवार जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा दुई घण्टा धर्ना दिएका छन् ।
दुग्ध उत्पादन जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको नेतृत्वमा भेला भएका सय भन्दा वढी किसानहरुले विहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
प्रशासन कार्यालय परिसरमा धर्ना बसेका किसानहरुले सरकार विरुद्ध दुधको भुक्तानी तुरुन्त गर, किसान मार्न पाइदैन, मिल्क होलिडे वन्द गर, पशु विमा व्यवस्थित गर, भारतबाट अनियमित आयतित दुध बन्द गर जस्ता नाराजुलस गरेका थिए ।
दुई घण्टाको धर्नापछि किसानहरुले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत् सरकारलाई ज्ञापन पत्र पठाएका छन् ।
दुध उत्पादक किसानहरुको सरकारी स्वामित्वमा रहेका डिडिसी लगायतका अन्य डेरी उद्योगीहरुले विगत ६ महिना अघिदेखि ६ अर्व बढीको भुक्तानी वक्यौता रहेको केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरले बताए ।
दुग्ध उत्पादन जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष नारद कटुवालले दुग्ध विकास संस्थानबाट धनकुटाका किसानहरुले ११ करोड रुपैया भन्दा वढी रकम भुक्तानी लिन बाँकी रहेको बताए । दुधको भुक्तानी नहुँदा किसानले पालेका गाईवस्तुलाई दाना तथा चोकर खुवाउन समेत समस्या हुन थालेको उनको भनाई छ ।
६÷७ महिना सम्म भुक्तानी नपाएको कारण बैंकको किस्ता तिर्न नसक्दा किसानको घरखेत लिलामीको कालोसूचिमा पर्ने जोखिम वढेको दुग्ध उत्पादन जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका सचिव रोम बाजिम्पाकले बताए । अव वाध्य भएर आत्महत्या गर्ने दिन आएको उनको भनाई छ ।
संघले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्का जाम र २१ गते देशभरका किसानहरुलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा धर्ना वसेका धनकुटाका दूध उत्पादन किसानहरु (भिडियो)