धनकुटा । पाख्रिवास नगरपालिका वडा नं. १० चुङवाङमा आइतवार दिउँसो पिकअप जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक राजवावु महर्जनले बताए ।
हिलेबाट चुङवाङ तर्फ गइरहेको को १ च १६१९ नम्बरको पिकअप जीप भारती माध्यमिक विद्यालयको छेउमा सडक देखि करिव ५० मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ । गाडीको चक्का पड्किएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना स्थल रहेको सडक कच्ची हो । घटना स्थल हिले प्रहरी चौकीबाट करिव १५ किलोमिटरको दुरीमा छ ।