धनकुटा । सप्तकोशी नदीको बीचमा एउटा ठूलो ढुंगा छ, जसलाई खुवालुङ भनिन्छ । यो ठाउँ धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणी भन्दा केही माथि पर्छ । किरात समुदायको आस्थासँग जोडिएको खुवालुङ ढुंगालाई फुटाउने की संरक्षण गर्ने विषयमा कुनै खुवै चर्चा भएको थियो ।
किरातीको उत्पत्ति थलो भएको कारण यसलाई संरक्षण गरिनु पर्छ भन्दै खुवालुङलाई साँगुरीगढी गाउँपालिकाले आफ्नो पालिका गान र प्रतिक चिन्हमा समेटेको छ । गाउँपालिका गान सर्जक नन्दु राईले रचना गरेका हुन् । उनैको संगीत समेत रहेको छ । त्यस्तै गाउँपालिकाको प्रतिक चिन्ह अर्थात् लोगोमा सप्तकोशी नदि र त्यहाँ रहेको किराती समुदायको खुवालुङ ढुंगा समेटिएको छ ।
खुवालुङ भएको क्षेत्रको धनकुटातर्फको भागमा साँगुरीगढी गाउँपालिका वडा नंं १० आहाले र सहिदभूमि गाउँपालिका वडा नं १ त्रिवेणी पर्दछ ।
यो ऐतिहासिक धार्मिक केन्द्र भएको र यसलाई जोगाएर धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने भएको कारण पालिका गान र प्रतिक चिन्ह (लोगो) मा समेटिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
खुवालुङलाई धार्मिक पर्यटनसँग जोड्न डाँडाबजारको शिर ध्वजेडाँडादेखि खुवालुङ भएको ठाउँसम्मको क्षेत्रलाई समेटेर खुवालुङ पदमार्ग निर्माण गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।
उनका अनुसार खुवालुङ किरातहरुको साँस्कृतिक केन्द्र हो । किरातीहरु ऐतिहासिक स्थल मानेर खुवालुङलाई पुजा गर्छन् ।
खुवालुङको मिथक:
किरात राई वान्तवा खिम केन्द्रिय कार्य समितिको पर्चामा उल्लेख भएअनुसार किरातीहरुको पुर्खा मुकुबुङ्ग (भोटे), हर्कबुङ्ग (किरात) र रिप्लुङ्ग (थारु) तीन दाजुभाई थिए । उनीहरु खुवालुङ आइपुग्दा त्यहाँको ढोका बन्द थियो । तर जेठो मुकुबुङ्गले जुरेली चराको भोग दिएपछि ढोका खुल्छ र नदी तरे । माइलो हर्कबुङ्गले पार गर्न सक्दैन । पारि पुगेको दाजुलाई कसरी तर्नु भनेर सोध्दा चेलीको रगत दिनु भनेपछि चेलीको खुट्टाको कान्छी औला काटेर रगत दिएपछि ढोका खुल्यो तर चेलीको खुट्टाको रगत रोकिएन । त्यसपछि चेलीको रगत केराको पातमा खस्यो र त्यो केराको पात वाख्राले खन्छ । पात खानासाथ चेलीको तुरुन्त मृत्यु भयो । त्यसकारण राईहरुले वाख्राको मासु कुल पितृमा चढाउँदैनन् र खादैनन् भन्ने जनविश्वास रहेको छ । उक्त संगम स्थलबाट फैलिएका किराती पूर्खाहरु तमोर पछ्याउनेहरु लिम्बू भए, अरुण पछ्याउनेहरु याम्फू, मेवाहाङ्ग, दुधकोशी पछ्याउनेहरु राई भए, सुनकोशी पछ्याउनेहरु सुनुवार, जिरेल भए भन्ने जनविश्वास रहेको छ ।
खुवालुङ :
खुवाको अर्थ राज्यसीमा, लुङको अर्थ ढुंगा भनिन्छ भने कतिपय किरातीहरुले आ–आफ्नै भाषा, धार्मिक शाब्दीक अर्थबाट भन्ने गर्छन् । जस्तै सायालुङ साया, माङ्ग, पविध माङ देवाता आदि जनाउने हुनाले यस पवित्र ढुंगालाई उपरोक्ता नामले पुकारिन्छ । त्यसैगरी बहुभाषिक राईहरुले आ–आफ्नो भाषाहरु प्रयोग गर्ने गर्दछन् ।