धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।
नवदृष्टि आई हस्पिटल प्रा.लि इटहरीको आँखा उपचार केन्द्र तुम्लिङटारको आयोजना तथा महालक्ष्मी नगरपालिका वडा नं. ३ वडा कार्यालयको समन्वयमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।
शिविरमा १ सय १७ जना आँखाका विरामीले उपचार गराएका छन् । जसमध्ये १० जना विरामीलाई मोतिविन्दुको शल्यक्रियाको लागि सिफारिस गरिएको छ । सिफारिस गरिएको विरामीको शल्यक्रिया निःशुल्क हुने ३ नं. वडाका वडाध्यक्ष रामचन्द्र थापाले बताए । उनका अनुसार शल्यक्रिया नवदृष्टि आई हस्पिटलमा हुनेछ ।
शिविरमा हस्पिटलको तर्फबाट सिनियर दृष्टि विशेषज्ञ कमलकुमार साहको नेतृत्वमा ४ जनाको स्वास्थ्यकर्मी टोली खटिएका थिए ।