धनकुटा । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले वित्तिय संस्थाहरुले उत्पादनशील क्षेत्रमा मात्र ऋण लगानी गर्नुपर्ने बताएका छन् ।
मेरो माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधवार हिलेमा आयोजना गरेकाे वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता अभिवृद्धी कार्यक्रममा वाेल्दै जिल्ला समन्वय प्रमुख तामाङले उत्पादनशील क्षेत्रमा लगानी नगरे अनेक समस्या निम्तिने भन्दै उनले ऋणको सही सदुपयोग गर्नसके मात्र मानिसको जीवनस्तरमा सुधार हुने र देशको आर्थिक उन्नतिमा सघाउ पुग्ने बताए ।
जसका लागि वित्तिय तथा सरोकारवालाहरुले अनुगमनको कामलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो । ऋण चलाउन नजान्दा कतिपयले ज्यान समेत गुमाउनु पर्ने अवस्थाको र्सिजना हुने गरेको भन्दै उनले यस्तो नहोस् भन्नका लागि लगानीकर्ता र ऋण लिने दुवैले आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा अनुगमन कार्यालय वालग्रामका अनुगमन अधिकृत रविन्द्र प्रसाद कडेलले संस्थाको बारेमा जानकारी गराए । त्यस्तै मेरो माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हिलेका शाखा प्रबन्धक रेमनकुमार कार्कीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत विवरण अनुसार हाल यो संस्थाले जिल्लाको पाख्रिवास र धनकुटा नगरपालिकामा काम गरिरहेको छ । त्यस्तै ६८ केन्द्र निर्माण तथा १ सय ४२ समूह संख्या रहेका छन् । भने संस्थाले ६ करोड ३० लाख बराबरको कर्जा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रम सहभागी प्रमुख अतिथि तथा विशेष अतिथीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।
स्वागत मन्तव्य संस्थाका लिलराज ठकुरी र कार्यक्रमको संचालन इन्द्रबहादुर खडकाले गरेका थिए ।