धनकुटा । चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुकमा आगामी वैशाख २ गतेदेखि संचालन हुने सातौं खादले सिद्धदेवी गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र (सिसिडिआइसी) फुटवल क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेल धरानको पानबारी फुटवल क्लव र मोरङ वेलवारीको योङ्गस्टार फुटवल वीच हुने प्रतियोगिता व्यवस्थापन प्रमुख हर्क चेम्जोङले बताए ।
क्वाटरफाइनलका खेलहरु आगामी वैशाख २ र ३ गते संचालन हुनेछ । उद्घाटनको दिन दुई खेल संचालन हुनेछ । पहिलाे खेल विहान ११:३० र दोस्रो खेल दिउँसो २ बजे हुनेछ। त्यस्तै वैशाख ३ गते पनि क्वाटरफाइनलका दुई खेल संचालन हुनेछ । सेमिफाइनलका खेल वैशाख ४ गते हुनेछ । क्वाटरफाइनल खेलमा विजयी हुने चार टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका दुई खेलवाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । फाइनल खेल वैशाख ५ गते हुने चेम्जोङले बताए ।
प्रतियोगितामा आयोजक सहित धरानको पानवारी फुटवल क्लव, मोरङ वेलवारीको योङ्गस्टार फुटवल क्लव, इटहरीको तालतलैया आरटिएफ, उदयपुरको कटारी टाइगर क्लव, चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरको हात्तिटार स्पोर्टिङ क्लव, मोरङको पथरी युनिट स्पोर्ट्स क्लव, साँगुरीगढी गाउँपालिका वडा नं. ४ को फाक्सिव फुटवल क्लव सहभागी छन् ।
सातौं सस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको सचिव पर्शु विकले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाई छ ।
गतसंस्करणको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गरेका थिए । गतसंस्करणको विजेता आयोजक रातो र उपविजेता आयोजक निलो भएको थियो ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह, देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिता संचालन गर्नका लागि ८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको प्रायोजक चौविसे गाउँपालिका वडा नं ७ वडा कार्यालय र चौविसे गाउँपालिका रहेको छ । खेलको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमले गर्नेछ ।
प्रतियोगितालाई हरेक वर्ष दिगो रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना गर्ने पहल भइरहेको सातौं संस्करणका व्यवस्थापक चेम्जोङले बताए । चेम्जोङको समन्वयमा अक्षयकोष निर्माणका लागि ७ नं वडाध्यक्ष रुद्रप्रसाद चेम्जोङ र गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुको अगुवाइमा पहल भइरहेको छ ।