धनकुटा । गत वैशाखमा सम्पन्न १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ । आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै गतवैशाख २७ देखि जेठ ३ गतेसम्म संचालन भएको १५ औं सहिद भीमनारायण गोल्डकपको आय–व्यय सार्वजनिक गरेको हो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार प्रतियोगिताबाट ३५ लाख ८१ हजार ८ सय रुपैया आम्दानी भएको थियो । भने ३३ लाख ८६ हजार ४ सय ६६ रुपैया खर्च भएको छ । १५ औं संस्करणबाट १ लाख ९५ हजार ३ सय ३४ रुपैया बचत भएको प्रतियोगिता संचालन समितिका संयोजक शम्भु प्रधानले बताए । उनका अनुसार हालसम्म विभिन्न दाता, सरकारी निकाय, प्रायोजकहरुबाट २९ लाख ३६ हजार ९ सय २ रुपैया रकम प्राप्त भइसकेको छ । अझैं ६ लाख ४४ हजार ८ सय ९८ रुपैया रकम अझैं केही दाताहरुबाट उठ्न वाँकी रहेको उनको भनाई छ ।
प्रतियोगिता संचालनको लागि धनकुटा नगरपालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषद् काठमाडौंले ५ लाख, जगशक्ती (स्टील) काठमाडौंले ४ लाख, प्रदेश खेलकुद विकास समिति विराटनगरले ३ लाख, महालक्ष्मी नगरपालिकाले २ लाख, पाख्रिवास नगरपालिकाले १ लाख, साँगुरीगढी गाउँपालिकाले १ लाख, छथरजोरपाटी गाउँपालिकाले ८५ हजार रुपैया र अन्य दाताहरुले आर्थिक सहयोग गरेका थिए ।
गेट टिकटबाट १ लाख ४ हजार रुपैया आम्दानी भएको थियो ।
त्यस्तै खर्चतर्फ खेलाडीलाई दैनिक भत्ता १० लाख ७५ हजार २ सय, खेलाडी भ्रमण भत्ता २ लाख ९० हजार, निर्णायक दैनिक भत्ता १ लाख ५२ हजार ५ सय लगायत २० शिर्षकमा खर्च भएको बताइएको थियो ।
पत्रकार सम्मेलन मार्फत् आयोजक समितिले १५ औं संस्करणलाई भव्यताका साथ सम्पन्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गरिएको थियो ।
१५ औं सस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी प्लानिङ ब्वाइज युनाइटेट क्लव काठमाडौंले जितेको थियो ।
पत्रकार सम्मेलनमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानका संरक्षक तथा सहिद भीमनारायण श्रेष्ठका पुत्र मनोहरनारायण श्रेष्ठ, धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष मणि चेम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई सहित संचारकर्मीहरु र आयोजक संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन ।
२०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो।
१६ औं संस्करणको प्रस्तावित वैशाख २३
सहिद भीमनारायण गोल्डकपको १६ औैं संस्करण आयोजना मिति आगामी वैशाख २३ गते प्रस्ताव गरिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार समितिको वैठकमा आगामी वैशाख २३ गतेदेखि संचालन गर्ने गरि मिति प्रस्ताव गरिएको छ । नेपालको ए डिभिजन मछिन्द्र क्लव र एनआरटी क्लवलाई प्रतियोगितामा सहभागी गराउन छलफल सुरु गरिएको छ । १६ औं संस्करणलाई विगतको भन्दा स्तरीय वनाउनका लागि राम्रो क्लवलाई सहभागी गराउने आयोजकको योजना रहेको प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए । सहिद भीमनारायण गोल्डकप धनकुटाको मात्रै नभएर कोशी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता हो । त्यसकारण स्तरीय टिमलाई सहभागी गराउन वैशाख २३ गते प्रस्ताव गरिएको उनले बताए ।