धनकुटा l चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरमा आजदेखि दोस्रो जय दगलसिंह स्मृति गोल्डकप सुरु भएको छ । उद्घाटनको दिन सम्पन्न पहिलो खेलमा आयोजक हात्तिटार स्पोर्टस् क्लव विजयी भएको छ । फाक्सिव फुटवल क्लवलाई ४–३ गोलअन्तरले पराजित गर्दै आयोजक हात्तिटार स्पोर्टस् क्लव विजयी भएको हो । आजको खेलमा विजयी भएसँगै आयोजक सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशको लागि आयोजकले डाँडाबजार फुटवल क्लव र युनिटी स्पोर्टस् क्लवको विजेतासँग चैत्र ३० गते प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दी म्याच विरेन चेम्जोङ घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
आज सम्पन्न दोस्रो खेलमा मौनावुधुकको सिसिडिआइसी क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै देउराली यूवा क्लव विजयी भएको छ । देउरालीको जितमा एक मात्र निर्णायक गोल खेलको अन्त्यतिर पदम भट्टराईले गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । देउराली यूवा क्लवले फाइनल प्रवेशको लागि डाँगीहाट फुटवल क्लव र कटारी टाइगर फुटवल क्लवको विजेतासँग आगामी चैत्र ३० गते प्रतिस्पर्धा गर्नेछ ।
हात्तिटार स्पोर्टस् क्लवको आयोजनामा आगामी वैशाख १ गतेसम्म संचालन हुनेछ । गोल्डकपको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए । नकआउट चरणमा हुने प्रतियोगितामा आयोजक सहित फाक्सिव फुटवल क्लव, डाँडाबजार फुटवल क्लव, युनिटी स्पोर्ट्स क्लव, सिसिडिआइसी फुटवल क्लव मौनावुधुक, देउराली यूवा क्लव, डाँगीहाट फुटवल क्लव र कटारी फुटवल क्लव छन् ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।