धनकुटा । नयाँ वर्ष २०८१ अवसर पारेर आगामी चैत ३० गतेदेखि दोस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा सदरमुकामको पुरानो बजार तल्लो र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नयाँ वर्षको अवसर पारेर दोस्रो कोप्चे उत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिइयो ।
सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्थाको संयोजनमा तीन दिनसम्म संचालन हुने उत्सव धनकुटा–५ स्थित विहिवारे हटियामा हुनेछ ।
अघिल्लो वर्ष पनि कोप्चे उत्सव आयोजना भएको थियो । कुनै वेलाको व्यापारिक चहलपहल हुने कोप्चे पछिल्लो समय सुनसान हुँदै गइरहेको अवस्थामा पुरानो चहलपहललाई फर्काउन आयोजना गरिएको संस्थाका अध्यक्ष रिजन पोख्रेलले बाए ।
उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छ । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु खेलाइनेछ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र प्रदर्शनी गर्ने आयोजकको तयारी छ । उत्सवमा २० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । उत्सवको लागि १० लाख ५० हजार खर्च अनुमान गरिएको छ ।