धनकुटा । देउराली यूवा क्लव धनकुटाले चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरमा आयोजना भएको दोस्रो जय दगलसिंह स्मृति गोल्डकपको उपाधी जितेको छ ।
शनिवार हात्तिटार खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक हात्तिटार स्पोर्टस क्लवलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै देउराली यूवा क्लवले उपाधी जितेको हो ।
उपाधीसँगै देउरालीले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने आयोजक टिमले नगद ५० हजार रुपैया, ट्रफी र मेडलमा चित्त वुझाएको छ ।
देउरालीको जितमा दिपेन शाक्यले ३, सन्तोष लिम्बूले २ र विजु भूजेलले १ गोल गरेका थिए । हात्तिटारको लागि नरेन्द्र विकले सान्त्वना गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच देउरालीका दिपेन शाक्य घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको थियो । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुबाट आर्थिक सहयोग प्राप्त भएको आयोजक हात्तिटार स्पोर्टस क्लवका अध्यक्षा रत्नबहादुर राईले बताए । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको थियो ।