धनकुटा । नयाँ वर्ष २०८१ को पहिलो दिन साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारको शिरमा रहेको ध्वजेडाँडामा नेपाल सहित २२ देशको नयाँ झण्डा फेरिएको छ ।
गतअसारमा फहराइएको झण्डा च्यातिएपछि डाँडाबजार फुटवल क्लवको अगुवाईमा नयाँ झण्डा फेरिएको हो ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नं. वडाका वडाध्यक्ष खड्ग लिम्बू सहितका उपस्थितिमा ध्वजेडाँडामा नयाँ झण्डा फेरिएको डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए । उनका अनुसार गतआर्थिक वर्षमा नेपाल सहित २२ देशका झण्डा राखिएको थियो । ध्वजेडाँडामा अत्याधिक हावा चल्ने हुँदा झण्डाहरु च्यातिएको थियो । नयाँ वर्षको अवसर पारेर पहिलो दिन झण्डा राखिएको उनले बताए ।
उनका अनुसार प्रतिझण्डाको लागत मुल्य २ हजार ५ सय रुपैया रहेको छ । २२ देश मध्ये एउटा देशको झण्डा भने विभिन्न दाताहरुको आर्थिक सहयोगमा राखिएको छ । नयाँ झण्डा राख्नको लागि १७ जना दाताहरुले सहयोग गरेका छन् । अपुग झण्डा क्लवबाट राखिने कोषाध्यक्ष मणी देवानले बताए ।
झण्डा राख्न सहयोग गर्ने दाताहरुमा गाउँपालिका अध्यक्ष जितेन्द्र राई, वडाध्यक्ष खड्गवहादुर लिम्बु, ओमप्रकाश लिम्बू, दिपक लिंखा राई, चन्द्र याखा, मणि देवान, सुखराज लिम्बू, दिपक मगर, छत्र याखा, मिलन लिम्बू, सरोज लिम्बू, पूर्ण राई, प्रकाश ओझा, रघु याखा, अमृत लिम्बू, भरत लुङ्गेली मगर र राजकुमार लिम्बू छन् ।
ध्वजेडाँडामा राखिएको झण्डा हेर्न आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने छ । पछिल्लो समय यो डाँडा पर्यटकीय गन्तव्य वनेको छ । यस क्षेत्रका १३ घरले होमस्टे संचालन गरेका छन् ।