धनकुटा । चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुकमा आजदेखि सातौं खादले सिद्धदेवी गोल्डकप फुटवल प्रतियोगिता सुरु हुँदैछ ।
चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र (सिसिडिआइसी) फुटवल क्लवले आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो ।
उद्घाटन खेल धरानको पानबारी फुटवल क्लव र मोरङ वेलवारीको योङ्गस्टार फुटवल वीच हुने प्रतियोगिता व्यवस्थापन प्रमुख हर्क चेम्जोङले बताए ।
उनका अनुसार प्रतियोगितामा आयोजक सहित आठ टीमको सहभागिता छ । क्वाटरफाइनलका खेलहरु वैशाख २ र ३ गते संचालन हुनेछ । उदु्घाटनको दिन दुई खेल हुनेछ । भने वैशाख ३ गते पनि क्वाटरफाइनलका खेल हुनेछ । त्यस्तै सेमिफाइनलका खेल वैशाख ४ गते हुनेछ । क्वाटरफाइनलका खेलमा विजयी हुने चार टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका दुई खेलवाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । फाइनल खेल वैशाख ५ गते हुने चेम्जोङले बताए ।
फुटवलको माध्यमवाट यस क्षेत्रको प्रचारप्रचार, विकास गर्ने र पहिचान गराउने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको आयोजक सिसिडिआइसी फुटवल क्लवका अध्यक्ष श्यामबहादुर चेम्जोङले बताए ।
मौनावुधुकमा रहेको शक्तिपिडको रुपमा रहेको धार्मिक आस्थाको केन्द्र खादले सिद्धदेवी देवस्थलको प्रचार प्रसार गर्नु मुख्य उद्देश्य रहेको छ ।
प्रतियोगितामा आयोजक सहित धरानको पानवारी फुटवल क्लव, मोरङ वेलवारीको योङ्गस्टार फुटवल क्लव, इटहरीको तालतलैया आरटिएफ, उदयपुरको कटारी टाइगर क्लव, चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरको हात्तिटार स्पोर्टिङ क्लव, मोरङको पथरी युनिट स्पोर्ट्स क्लव, साँगुरीगढी गाउँपालिका वडा नं. ४ को फाक्सिव फुटवल क्लव सहभागी छन् ।
सातौं सस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको सचिव पर्शु विकले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाई छ । गतसंस्करणको विजेताले
नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गरेका थिए । गतसंस्करणको विजेता आयोजक रातो र उपविजेता आयोजक निलो भएको थियो ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह, देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता संचालन गर्नका लागि ८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको प्रायोजक चौविसे गाउँपालिका वडा नं ७ वडा कार्यालय र चौविसे गाउँपालिका रहेको छ ।
खेलको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमले गर्नेछ ।
प्रतियोगतालाई हरेक वर्ष दिगो रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना गर्ने पहल भइरहेको सातौं संस्करणका व्यवस्थापक चेम्जोङले बताए । चेम्जोङको समन्वयमा अक्षयकोष निर्माणका लागि ७ नं वडाध्यक्ष रुद्रप्रसाद चेम्जोङ र गाउँपालिका अध्यक्ष राजकुमार लिम्बुको अगुवाइमा पहल भइरहेको छ ।