धनकुटा । नेपालस्थित भारतीय दुतावासले साँगुरीगढी गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स प्रदान गरेको छ ।
पूर्वमन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलवहादुर थापाको पहलमा नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासबाट गाउँपालिकालाई एम्वुलेन्स प्राप्त भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमका वीच दुतावासबाट प्राप्त एम्वुलेन्सको चावी अर्थमन्त्री वर्षमान पुनले गाउँपालिका अध्यक्ष जितेन्द्र राईलाई हस्तान्तरण गरेका थिए ।
दुतावासबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने अध्यक्ष राईले बताए । उनका अनुसार अवको केही दिन भित्र एम्वुलेन्स हस्तान्तरण गरि स्वास्थ्य चौकीबाट संचालन हुनेछ ।
गाउँपालिकाले एक वर्ष अघि काठमाडौंस्थित भारतीय दुतावासमा आहाले स्वास्थ्य चौकीमार्फत संचालन हुने गरी एम्वुलेन्स माग गरेको थियो । गाउँपालिकाको वडा नं. ९ र १० को क्षेत्र सवैभन्दा विकट रहेकाले सो स्थानका वासिन्दाहरु अस्वस्थ्य तथा सुत्केरी भएको बेला यातायातको साधन नपाउँदा साथै उपचारको लागि माथिल्लोस्तरको अस्पतालमा समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनु पर्ने जोखिम थियो । यस्ता किसिमका जटिल समस्याहरुको समाधानको लागि आहाले स्वास्थ्य चौकीलाई एम्वुलेन्स आवश्यक भएकाले दुतावासमा माग गरिएको अध्यक्ष राईको भनाई छ ।