धनकुटा । चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुकमा आजदेखि सातौं खादले सिद्धदेवी गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटनको दिन सम्पन्न पहिलो खेलमा पानवारी फुटवल क्लव धरानले योङस्टार क्लव वेलवारीलाई ट्राइवेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय भरिमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा पानवारीले वाजी मार्न सफल भयो । उक्त खेलको म्यान अफ दी म्याच पानवारीका गोलकिपर नविन भूजेल भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे ।
त्यस्तै आज सम्पन्न दोस्रो खेलमा हात्तिटार स्पोर्टस क्लवलाई ट्राइवेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पथरी युनिट स्पोर्टस क्लव मोरङ विजयी भएको थियो । निर्धारित समय भरिमा दुवै टिमको एक÷एक गोल भएको थियो । उक्त खेलको म्यान अफ दी म्याच सुरज याखा घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश फुटवल संघका उपाध्यक्ष मणी चेम्जोङले रेफ्रिलाई वल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले ६६ हजार ६ सय ६६ रुपैया प्राप्त गर्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाई छ । गतसंस्करणको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गरेका थिए । गतसंस्करणको विजेता आयोजक रातो र उपविजेता आयोजक निलो भएको थियो ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानीय तह, देश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको प्रतियोगिताको व्यवस्थापक कोशी फुटवल संघका सदस्य हर्क चेम्जोङले बताए ।
चौविसे सामुदायिक विकास तथा सूचना केन्द्र (सिसिडिआइसी) फुटवल क्लवले आयोजनामा सुरु भएको प्रतियोगिता मौनावुधुक खेल मैदानमा भइरहेको छ ।
प्रतियोगिता अन्र्तगत भोली वैशाख ३ गते सोमवार पहिलो खेल तालतलैया आरआईएफसी र कटारी टाइगर क्लव उदयपुर वीच हुनेछ । भने आयोजक दोस्रो खेल सिसिडिआइसी र फाक्सिव फुटवल क्लव वीच हुने चेम्जोङले बताए ।
सो अवसरमा आयोजक सिसिडिआइसीले पूर्व खेलाडी योगिन चेम्जोङलाई धनकुटाको राष्ट्रिय रेफ्री भएकोमा बधाई सहित सम्मान गरेको थियो ।