धनकुटा । वैशाख १४ गतेदेखि हुने जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाको अनुसार प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहनेछ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खेलमैदानमा आगामी वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य बनाउन खेलमैदान स्तरोन्नोत्ति गरिएको छ । ५ सय दर्शक अट्ने क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । मैदान स्तरोन्नोत्ति र अस्थायी प्याराफिट निर्माणको लागि स्थानीय यूवाहरुले जनश्रमदान गरेका थिए । वडा भरि रहेका ९ वटा टोलका प्रत्येक टोलवाट ३÷३ जना यूवाहरु मैदान सरसफाईमा खटिएका क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।
भोलि हुने उद्घाटन खेलमा डाँगीहाट फुटवल क्लव, मोरङ र तालतलैया फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल १ बजे सुरु हुनेछ । त्यस्तै ३ बजे सुरु हुने दोस्रो खेलमा गाईघाट फुटवल क्लव, उदयपुर र निराज यूवा क्लव सुनसरी भिड्नेछन् । प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउनेछ ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गबहादुर लिम्बूले बताए ।