धनकुटा । जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
डाँडाबजार फुटवल क्लवको आयोजनामा साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजार खेल मैदानमा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिम सहभागी छन् ।
उद्घाटन खेलमा डाँगीहाट फुटवल क्लव, मोरङ र तालतलैया फुटवल क्लववीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल १ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै ३ बजेदेखि सुरु हुने दोस्रो खेलमा गाईघाट फुटवल क्लव, उदयपुर र निराज यूवा क्लव सुनसरी भिड्नेछन् । विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
प्रतियोगितालाई भव्य संचालन गर्न खेलमैदान स्तरोन्नोत्ति गरिएको छ । ५ सय दर्शक अट्ने क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । मैदान स्तरोन्नोत्ति र अस्थायी प्याराफिट निर्माणको लागि स्थानीय यूवाहरुले जनश्रमदान गरेका थिए । वडा भरि रहेका ९ वटा टोलका प्रत्येक टोलवाट ३/३ जना यूवाहरु मैदान सरसफाईमा खटिएका क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।
खेलको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमले गर्नेछ ।