धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा आजदेखि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा डाँगीहाट फुटवल क्लव मोरङलाई २–० गोलअन्तरले पराजित गर्दै तालतलैया फुटवल क्लवले विजयी सुरुवात गरेको छ । तालतलैयाको जितमा सूर्य राउत र विजय भूजेलले एक/ एक गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच विजय भूजेल घोषित हुँदै नगद ३ हजार पाँच सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा उदयपुरको गाईघाट फुटवल क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै निराजन यूवा क्लव धरान विजयी भएको थियो । धरानको जितमा मिलन राई र रोमन लिम्बूले गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच विनोद राई घोषित भएका थिए । नगद ३ हजार पाँच सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे ।
म्यान अफ द म्याचको पुरस्कार साँगुरीगढी गाउँपालिकावडा नं. ५ का वडाध्यक्ष खड्गवहादुर लिम्बू र तुंखा फुटवल क्लवका कोषाध्यक्ष रामजी याखाले प्रदान गरेका थिए ।
आज सम्पन्न खेलको विजयी टोली सेमिफाईनलमा प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि तालतलैया फुटवल क्लवले आगामी वैशाख १६ गते आयोजक डाँडाबजार फुटवल क्लव र प्रदेश प्रहरी टोलीको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । आयोजक डाँडाबजार र प्रदेश प्रहरी वीचको खेल भोलि शनिवार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै निराजन यूवाले क्लवले पनि फाइनल प्रवेशको लागि मोरङको लेटाङ फुटवल क्लव र रारा फुटवल क्लवको विजेतासँग वैशाख १६ गते प्रतिस्पर्धा गर्नेछ । लेटाङ र रारावीचको खेल भोली शनिवार ३ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
प्रतियोगिताको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष मणिकुमार चेम्जोङले गरेका थिए । डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष खड्गबहादुर लिम्बु लगायतले मन्तव्य राखेका थिए ।
प्रतियोगिता आगामी वैशाख १७ गतेसम्म संचालन हुनेछ । डाँडाबजार फुटवल क्लवकाे आयोजना भइरहेको प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भएकाे छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।