धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज शनिवार दुई वटा क्वाटरफाइनलका खेल संचालन हुँदैछ ।
पहिलो क्वाटरफाइनल खेलमा आयोजक डाँडाबजार फुटवल क्लव र प्रदेश प्रहरीको टिम प्रतिस्पर्धा गर्नेछ । यी दुई वीचको खेल दिउँसो १ बजेदेखि डाँडाबजार खेल मैदानमा हुनेछ । डाँडाबजार फुटवल क्लव साविक विजेता समेत हो । गतसंस्करणमा रारा फुटवल क्लवलाई पराजित गर्दै उपाधी जितेको थियो । डाँडाबजारलाई यो पटक उपाधी रक्षा गर्ने चुनौती छ । घरेलु मैदान र दर्शकको साथले आजको खेल जित्नेमा ढुक्क छ डाँडाबजार ।
त्यस्तै आजै हुने क्वाटरफाइनलको दोस्रो खेलमा मोरङको लेटाङ फुटवल क्लव र रारा फुटवल क्लव वीच प्रतिस्पर्धा गर्नेछ । रारा गतसंस्करणको उपविजेता टिम हो ।
आजको खेलपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुनेछ । भोलि सेमिफाइनलका दुई खेल संचालन हुनेछ । वैशाख १७ गते फाइनल खेल संचालन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण गाेलनेपाल डटकमले फेसवुक पेज मार्फत गर्नेछ ।