धनकुटा । डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा आयोजक डाँडाबजार फुटवल क्लव नेपाल प्रहरीको प्रादेशिक टोलीसँग पराजित भएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार खेल मैदानमा शनिवार सम्पन्न क्वाटरफाइनल खेलमा आयोजक डाँडाबजार नेपाल प्रहरीको प्रादेशिक टोलीसँग २–० गोलअन्तरले पराजित भएको छ । प्रहरीको जितमा सञ्जिव भूजेल र रमेश राजवंशीले एक/एक गोल गरेका थिए ।
साविक विजेता समेत रहेको डाँडाबजार यो संस्करणको पहिलो खेलमा पराजित हुँदै क्वाटरफाइनलबाट वाहिरिएको हो ।
घरेलु खेल मैदान र दर्शकको साथ पाएपनि डाँडाबजारले त्यसको सदुप्रयोग गर्न सकेन । विदेशी खेलाडी सहित मैदानमा उत्रिएको डाँडाबजारले सोचेअनुरुप प्रदर्शन गर्न सकेन । यो संस्करणको उपाधी जित्ने लक्ष्य राखेको डाँडाबजार पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट वाहिरियो । खेलको म्यान अफ द म्याच सञ्जिव भूजेल घोषित भए । उनले नगद ३ हजार ५ सय रुपैया सहित ट्रफी प्राप्त गरे ।
अहिले प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल गतसंस्करणको उपविजेता समेत रहेको रारा फुटवल क्लव र मोरङको लेटाङ फुटवल क्लव वीच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।