धनकुटा । खमिर गिल्सन कन्दङ्वाको एक मात्र निर्णायक गोलको मद्दतले विजयी हुँदै लेटाङ फुटवल क्लव डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा रारा फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै लेटाङ सेमिफाइनलमा प्रवेश गरेको हो छ ।
लेटाङको जितमा खमिरले पहिलो हाफको १४ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट निर्धारित समयमा गोल हुन सकेन । लेटाङ विजयी वन्यो । एक मात्र निर्णायक गोल गर्ने खमिर खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद ३ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे ।
सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग खेलिसकेका खेलाडीको साथ मैदान उत्रिएको राराले सोचे अनुरुप प्रर्दशन गर्न सकेन । पहिलो हाफमा लेटाङले रारालाई दवावमा राखेको थियो । दोस्रो हाफमा राराले लेटाङलाई दवावमा राखेपनि गोलस्कोर निकाल्न सकेन । राराको अंग्रपंतिका खेलाडी राम वाजी, वुद्ध चेम्जोङ, सुनिल खड्का, शिशिर लेखीले प्रहार गरेको दर्जनौं प्रहारमा लेटाङका गोलकिपर पूर्ण चेम्जोङ वाधक वनेका थिए । गतसंस्करणको उपविजेता समेत रहेको रारा पहिलो खेलवाटै वाहिरिन पुग्यो ।
आजै सम्पन्न क्वाटरफाइनल खेलमा गतसंस्करणको विजेता डाँडाबजार फुटवल क्लव नेपाल प्रहरीको प्रादेशिक टोलीसँग २–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको थियो ।
आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । भोली सेमिफाइनलका दुई खेल संचालन हुनेछन् । पहिलो खेल तालतलैया फुटवल क्लवले नेपाल प्रहरीको प्रादेशिक टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै दोस्रो खेल लेटाङ फुटवल क्लवसँग धरानको निराजन यूवा क्वले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख १७ गते हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधी सहित २ लाख ५० हजार तथा उपविजेताले १ लाख ५० हजार रुपैया पाउने आयोजक डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार सुब्बाले बताए ।
भव्य रुपमा संचालन गर्न गाउँपालिका, वडा कार्यालय, विभिन्न सामाजिक संघसंस्था, देश तथा विदेश वस्ने नेपालीहरुबाट सहयोग प्राप्त भइरहेको छ । प्रतियोगिता संचालनको लागि करिव ११ लाख रुपैया बजेट विनियोजन गरिएको आयोजक डाँडाबजार फुटवल क्लवका कोषाध्यक्ष मणीकुमार देवानले बताए ।
‘डाँडाबजारको शान, खेलकुदवाट पहिचान’ भन्ने मूल नाराका साथ संचालन हुने प्रतियोगिताको मुख्य उद्देश्य ८–१३ उमेर समूहको खेलाडी उत्पादन गर्नु रहेको आयोजक समितिमा आवद्ध समेत रहेका ५ नं. वडाका वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।