धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा आगामी वैशाख २५ गतेदेखि तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
खुवाफोक खेलकुद विकास समितिको आयोजना तथा खुवाफोक युनाईटेड फुटवल क्लवको व्यवस्थापनमा आगामी वैशाख २५ देखि २८ गतेसम्म तेस्रो खुवाफोक गोल्डकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।
खुवाफोक खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उनका अनुसार तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।
प्रतियोगितामा आयोजकको खुवाफोक युनाईटेड फुटवल क्लव, मोरङको कुसुमे साइनिङ क्लव, धरानको अलस्टार, झापाको चुलाचुली फुटवल क्लव, किराँत यूवा क्लव बुढिमोरङ, सिसिडिआइसी मौनावुधुक, फाक्सिव फुटवल क्लव र उदयपुरको फुटवल टिम गरी ८ टिमको सहभागिता रहनेछ ।
हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
गतवर्ष सम्पन्न दोस्रो संस्करणको विजेता मोरङको कुसुमे साइनिङ क्लव वन्न सफल भएको थियो । भने उपविजेता आयोजकको खुवाफोक युनाईटेड फुटवल क्लव वनेको थियो । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न साँगुरीगढी गाउँपालिका र ३ नं वडा कार्यालयले सहयोग गरेको छ ।
खेल हेर्न आउने दर्शकहरुको लागि बाँसको अस्थायी प्याराफिट निर्माण भइरहेकाे आयोजककाे भनाइ छ ।
खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।