धनकुटा l धनकुटा जिल्लाका अस्पताल, विद्यालय र मठमन्दिर वरिपरी मादक पदार्थ र सुर्तिजन्य चिजहरु विक्रि वितरण रोक्नका लागी प्रभावकारी अनुगमन गर्ने धनकुटा जिल्ला प्रहरी कार्यालय र धनकुटा उद्योग बाणिज्य संघको विचको संयुक्त बैठकले निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा भएको उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय धनकुटका डिएसपी राजबाबु महर्जन, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सतोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी, दिजेश शाक्य, अम्विका धमला, रेजिना पलिखे, सुनिता थापा, वरिष्ठ सई गजेन्द्र वहादुर श्रेष्ठ, प्रहरी हवल्दार अमित तामाङ लगायतले सूर्तीजन्य सामाग्रीहरु विक्रीवितरण रोक्नका लागी प्रभावकारी अनुगमन आवश्यकता रहेको वताए ।
उक्त बैठकले धनकुटा जिल्लाका अस्पताल, विद्यालयहरु र मठमन्दिर क्षेत्रहरुमा मादक पदार्थ र सूर्तीजन्य सामाग्रीहरु विक्रि वितरण रोक्न धनकुटा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अनगुमन गर्ने र प्रभावकारी रुपमा जनचेतना अभियान संचालन गर्ने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ले बताइन् ।
अस्पताल, विद्यालय र मठमन्दिरहरुको वरीपरी मादक पदार्थ, सूर्तीजन्य चिजहरु खुल्ला रुपमा विक्री वितरण गर्दा त्यस क्षेत्रकै वातावरण अस्तव्यस्त हुने भएकोले त्यस्तो क्षेत्रहरुमा विक्री वितरणमा रोक लगाउने र धनकुटा जिल्लाका सवै बजार क्षेत्रहरुमा विद्यार्थीहरुलाई विद्यालयको ड्रेसमा र साना बालबालिकाहरुलाई समेत मादक पदार्थ र सूर्तीजन्य वस्तहरु किन बेच तथा प्रयोग गर्न नदिनका लागी अनुगमन गर्ने समेत निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।